जनकपुरधाम : मधेश प्रदेश सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरू बर्खास्त भएका छन्।मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै जसपा नेपालका मन्त्रीहरूलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।नयाँ सत्ता समीकरणअनुसार बाराबाट निर्वाचित एमाले सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ। उनलाई बिहीबार राति प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका छन्।
यससँगै मधेश प्रदेश सरकारबाट जसपा नेपालका तीन मन्त्री बाहिरिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तथा श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई पदमुक्त गरिएको हो।
मुख्यमन्त्री यादवले सत्ता समीकरण परिवर्तन हुने सङ्केत गर्दै यसअघि जसपाका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। तर, जसपा नेपालले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको थियो। समर्थन कायम रहे पनि मन्त्रीहरू हटाइएपछि मधेश प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।यता, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका दुई मन्त्रीले राजीनामा दिएका छन्। जनमत सरकारबाट बाहिरिएसँगै प्रदेश सरकारको समीकरण फेरबदल भएको हो।