Shadow

पशुमाथि क्रुरता : जोत्दाजोत्दै थकित गोरु पछारियो, खाल्डो खनी मुख पुरिदिए

यसै त चर्को गर्मी । त्यसमाथि दिनभरी जोतिएर थाकेको थियो, गोरु । गोरुले हलो तान्न सकेन । तैपनि लाठीले कुटिरह्यो । लाठीको चोट भन्दा पनि बढी थियो उसको पीडा । गलेको शरीरले खुट्टा चाल्न सकेन । अनि आजित भई ऊ भुँइमा पछारियो ।तर, पछारिएर पनि धर पाएनन् । गोरु जोत्ने पुरुषले उसको मुख अघिल्तिर खाल्डो खनिदियो र त्यसमा मुख गाडेर माटोले पुरिदियो । त्यसै त सास फेर्न कठिन भइरहेको उसलाई कस्तो भयो होला ?यसरी गोरुमाथि क्रूर व्यवहार गर्ने व्यक्ति हुन्, जालीराम थापामगर । उनले यसको भिडियो बनाएर फेसबुकमा राखेका छन् । उनको प्रोफाइलमा स्थायी घर, प्युठान भएको उल्लेख छ ।जोत्दाजोत्दै थाकेको गोरुमाथि उनले किन यस्तो गरे ? त्यहाँ कुनै जवाफ छैन । बरू तिनीहरूले त्यसमा क्याप्सन लेखेका छन्, ‘एआईलाई सोधेर सिकौं भनेको टावर भए पो ।’

पछिल्लो समय ‘भाइरल’ हुने होडमा मान्छेले पशुमाथि अनेक क्रूर व्यवहार गर्न थालेका छन् । यस्ता घटजा दिनहुँजसो फेसबुकमा देख्न पाइन्छ । फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा धेरै ‘भ्युज’ बटुल्ने होडबाजीमा पनि यस्तो कृत्य हुँदै आएको छ । कहिले कुकुरलाई रक्सी खुवाउने, कहिले गोरुको यौनाङमा लाठी घुसार्ने, कहिले बाँदरलाई थुनेर कुकुरले टोकाउने जस्ता कृत्य हुँदै आएका छन् ।यद्यपि यस किसिमको पशु क्रुरताविरुद्ध प्राभावकारी कारबाही भएको छैन ।केही समयअघि मात्र नेपाल प्रहरीको फेसबुकबाट भने अत्याधिक गर्मीको समयमा पशुप्राणीको ख्याल गर्नु भनी सूचित गरिएको थियो । मध्य गर्मीमा जोत्ने, घाममा बाँधेर राख्ने, भारी बोकाउने कार्य नगर्नु भनिएको थियो ।यो प्युठानमा रहेछ नि । हेर्नु न कस्तो गरेको ? यो मान्छेको नाम जालीराम थापामगर रहेछ ।

के हुनसक्छ कारबाही ?

मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो भनेको छ । यस्तोमा उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।

यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । पशुलाई क्रूरतापूर्वक हत्या गरेमा सजाय अझ कडा हुन सक्छ, जसमा जरिवाना र कैद दुवै लागू हुन सक्ने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *