Shadow

अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ समृद्धिको यात्रा तय गरोस् …!

धैर्यको बाँध टुटेपछि उज्यालोको आसमा मौन बसेको चेतन शक्ति पनि भेलबाढी बनेर बग्दो रहेछ भन्ने सत्यको प्रामाणिक पहेलीका हामी सबै साक्षी हौँ । यसमा नेपाल आमाले गत भदौ २३ र २४ गते ७५ जना डिजिटल युगका होनहार युवाहरू गुमाउनुपर्‍यो । आफ्नो डिजिटल अधिकार नखोसियून र भ्रष्टाचारहीन रोजगारीयुक्त सुशासन कायम होस् भन्ने माग राख्दै अघि बढेका युवाहरूको हुङ्कारसामु सत्ता नै घुँडा टेक्न बाध्य बन्यो र देशको शासन व्यवस्थामा दुई दिनमै कायापलट भयो जो विश्वइतिहासमै चामत्कारिक नौलो घटना बन्यो । यद्यपि यसबेला बगेको भेलमा हुन सक्छ, बिचैबाट मिसिएको आगोको बाढीले सिंहदरवारजस्तो ऐतिहासिक धरोहर, अदालतजस्तो भौतिक संरचनासहित त्यहाँको संवेदनशील दस्ताबेजसँगै अन्य थुप्रै भौतिक संरचनाहरू तहसनहस बनायो । मौकामा चौका हान्दै अपराधीहरू जेल तोडेर भागे जसले गर्दा देशको अन्तर्राष्ट्रिय छवि केही हदसम्म धमिलिन पुग्यो । फेरि पनि लुटेराले सीमान्त लुटिसकेपछि लुट्नका लागि बाँकी केही नरहेजस्तो कम्तीमा निद्राबाट अर्कैको सिमानामा बिउँझनु नपरेकोमा नै हामीले धन्य सम्झेका छौँ । मानौँ, देश रहेसम्म सम्भावनाको ढोका खुलै रहन्छ भन्ने सीमान्त विश्वासमा हामी लडेर पनि पुनः उठेर हिँड्ने तरखरमा छौँ । यद्यपि अब हाम्रा सामु अनेकन चुनौतीहरू छन्, तर चुनौतीलाई अवसरका रूपमा स्वीकार गर्दै पुनः हिँड्ने र दगुर्ने तरखरमा छौँ । अबको हिँडाइ र दगुराइ दुवैले देशलाई समयमै गन्तव्यमा पुर्‍याओस् ! हामी सम्पूर्ण कलाप्रेमीहरू देशका नाममा यही शुभेच्छाका प्रेमभेटी चढाउँदछौँ !

वास्तवमा यो सत्य हो कि सारा सृष्टिकै कुशल महान् योजनाकार प्रकृतिसँग मान्छेले आँखा जुधाएर अस्तित्वको दाबी गर्न सक्ने क्षेत्र भनेको कला–साहित्यसंस्कृति नै हुन् जस्तो लाग्छ । यसमा प्रतिष्ठानका संरक्षक एवम् कविनिबन्धकार बिमल कोइरालाले कला–साहित्यसंस्कृति भनेको मन लाग्दा लगाइने र मन नलाग्दा थन्क्याइने सोकेशमा सजाइने गहना नभएर समाज, राष्ट्र र विश्वजस्ता दृश्य संरचनालाई स्वस्थ एवम् शालीन रूपमा चलायमान बनाउने सफ्ट पावर हो भन्ने विचार व्यक्त गर्दै आउनुभएको छ । तर बाहिर नदेखिने यो सफ्ट पावरको शक्तिमाथि अविश्वास गर्नु, अवमूल्यन गर्नु भनेको त देखिने शरीरलाई मात्र सत्य ठानेर शरीरलाई चलायमान् वा जिउँदो राख्ने चेतनशक्तिको तिरस्कार गर्नु हो । यसर्थमा कुनै पनि राष्ट्रका साहित्य–कला साधक भनेका त्यस राष्ट्रका आत्मा हुन् । यसैले भन्दै आएका छौँ कि आत्माबिनाको राष्ट्रलाई त ढलेको मुर्दा शरीरसरि खण्डहरबाहेक जिउँदो उपमा त के नै दिन सकिन्छ र !

फेरि हामी निरन्तर एकातिर सरकारी प्राज्ञिक थलोलाई झोलेहरूको भर्तीकेन्द्र बनाइनुहुन्न भन्ने पक्षमा ओकालत गर्दै आएका छौँ भने अब अर्कातिर देशको सभ्य र शालीन भविष्य सुनिश्चित गर्ने ठूलो जनशक्ति विद्यार्थी वर्गलाई सानैदेखि नैतिक शिक्षा प्रदान गरिनु अपरिहार्य बनेको सत्य सबैलाई टड्कारै महसुस भएको हुनुपर्छ । किनकि यस्तै नैतिकवान् बनाउने नैतिक शिक्षा र प्राप्त संस्कारले मात्र कर्तव्य चेतनासहित परिवार, समाज र राष्ट्रको छवि शालीन र सभ्य बन्न पुग्दछ । यसका लागि राष्ट्रलाई धड्कनमा राखी झोले प्रवृत्ति त्यागेर अबको पाठ्यक्रममा उपयुक्त साहित्यसम्बद्ध पाठ्यवस्तु समावेश गर्नु आवश्यक देखिन्छ । साथमा सत्तासीनले सत्तालाई कुनै एक पार्टीको निजी सम्पत्ति नबनाऊन् । सत्तालाई आम जनताको नासो मानी सत्तासीनले अधिनायकवादी बन्दुके चेतनालाई स्वार्थभन्दा माथि उठाएर अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ देशको समृद्धिको यात्रा तय गरोस् भन्ने कामना गर्दछौँ ।

आखिर समाजमा विद्यमान यस्ता विसङ्गत अँध्यारा सत्यहरूको उजागर गर्ने देवत्वको आसन प्राप्त उही कलासाहित्यले नै त हो ! यसरी जीवनका यिनै सत्यका संवाहक मानिने कलासाहित्यको सम्मान र उत्थानमा हरतरहले समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न अनि आम स्रष्टा एवम् आत्मजनको सहयोगले कलाश्री नामक छपाइ पत्रिकाको नयाँ अङ्कलगायत नेपाली कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई–पत्रिका केही सम्पादित पुराना प्लस केही नयाँ सुरुचिपूर्ण सामग्रीहरू लिएर पुनः उही अङ्ग्रेजी र नेपाली भर्सनसहित www.nepalikalasahitya.com / www.nepaliartnliterature.com को सोह्रौँ अङ्क यहाँहरूमा समर्पण गरिएको छ ।सत्यमा जीवनको सुगन्धलाई कैद गर्न नसके पनि यथार्थतः जीवनको रङग उतार्ने इन्द्रेणी शब्दलाई सलाम! यो सृष्टिमा जति अँध्यारो छाए पनि उज्यालो सम्भावनालाई साक्षी राखेर अँध्यारोमा शब्दको आतसबाजी उतार्ने स्रष्टालाई सलाम! यिनै उज्यालो सम्भावनायुक्त सम्यक् कर्मको जीवन्त साक्षी बन्न पुगेको छ— कलाश्री साहित्य वार्षिक एवम् यो ई पत्रिका । यसरी यो हाम्रो क्रमशः गर्दै आएको सत्कर्म www.nepalikalasahitya.com / www.nepaliartnliterature.com आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ। यसमा सत्कर्मयात्राका जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगतमा सदा अविष्मरणीय रहने छ ।

यसरी सिर्जनाका माध्यमबाट जीवनको सम्यक् लयको आविष्कारमा साथ दिनुहुने सम्बद्ध सबै आत्मजन एवं सहृदयी स्रष्टाहरूप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ । त्यसमा पनि अनुवादजस्तो कठिन कार्यमा सप्रेम साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू केशव सिग्देल र महेश पौड्यालप्रति विशेष आभार व्यक्त गर्दछ ।सदा सुन्दर जीवनका लागि सदा साहित्यकला साधक र साधनाकै पक्षमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *