
काठमाडौं । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसनजिकै तैनाथ सुरक्षाकर्मीमाथि शनिबार साँझ गोली चलाएको घटनामा एक बन्दुकधारीको मृत्यु भएको छ ।अमेरीकी सिक्रेट सर्भिसले प्रहरी अधिकारीहरूले जवाफी कारबाहीमा गोली चलाउँदा शंकास्पद व्यक्तिलाई लागेको र उनलाई स्थानीय अस्पताल पुर्याइएकामा पछि मृत्यु भएको जनाएको छ ।सिक्रेट सर्भिसका अनुसार, घटनामा कोही अधिकारी घाइते भएका छैनन् । त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको थियो । तर, ती पीडितको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।
नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले पत्रकारलाई बताएअनुसार, ती शंकास्पद व्यक्ति मानसिक रूपमा विचलित र उनलाई यसअघि नै टाढा बस्ने आदेश जारी गरिएको थियो ।गोलीबारीको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । आक्रमणको निसाना उनी नै थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन ।ट्रम्पले शनिबार साँझ नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै आफू इरानसँगको एउटा सम्झौतालाई अन्तिम रूप दिन ओभल अफिसमा काम गरिरहेको बताएका थिए ।