Shadow

अर्थतन्त्रको ०.२ प्रतिशत मात्रै विदेशी लगानी

           नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी भन्छन् : ‘हामीलाई प्रवर्द्धन दूत बनाउनुपर्छ’

  • नेपालले विगत तीन दशकमा कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशतभन्दा बढी विदेशी लगानी भित्र्याउन सकेको छैन, पछिल्ला तीन वर्षमा यो ०.२ प्रतिशतमा सीमित छ।
  • विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता, कर संरचनामा सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र डिजिटल प्रवर्द्धन आवश्यक रहेको उद्योगीहरूको सुझाव छ।
  • स्थानीय तथा बहुराष्ट्रिय कम्पनीहरूले दीर्घकालीन नीति, एकद्वार प्रणाली, र लगानीमैत्री वातावरणको अपेक्षा गरेका छन्।

काठमाडौँ — नेपालले औपचारिक रुपमा विदेशी लगानी खुला गरेयताको तीन दशकमा कुनै पनि वर्ष कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशतभन्दा बढी रकम भित्र्याउन सकेको छैन । पछिल्ला तीन वर्षमा यो अंक ०.२ प्रतिशत वरिपरि छ । नेफालजस्तै अति कम विकसित मुलुक कम्बोडिया, बंगलादेश, रवान्डालगायतले उल्लेख्य लगानी भित्र्याइरहँदा पनि नेपालमा विदेशी आकर्षित हुन सकेका छैनन् । नेपालमा सञ्चालित प्रायः कम्पनी सन्तोषजनक रुपमा चलिरहे पनि केहीको भने बहिर्गमन भइसकेको छ । यहाँ सञ्चालित कम्पनी विभिन्न समस्यामा पर्दै जाादा उनीहरुले पनि धक फुकाएर अन्यलाई नेपालमा लगानी गर्न सिफारिस गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा विदेशी लगानी आकर्षित गर्न यहाँका कम्पनीलाई नेपालको प्रवर्द्धन दूतका रुपमा उपयोग गर्नुपर्ने उनीहरुको सुझाव छ । यस सन्दर्भमा कान्तिपुरले युनिलिभर नेपालका प्रमुख कार्यकारी अधिकृत अम्लन मुखर्जी, बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर राजीव रोय र नेपाल–भारत चेम्बर अफ कमर्सका बहुराष्ट्रिय कम्पनी संयोजक साइबल घोषसँग कुराकानी गरेको छ ।

नेपालमा व्यवसाय सहज भएको सन्देश दिऊँ

आफ्नो प्राथमिकतालाई लिएर स्पष्ट रहेको स्थिर सरकारले बजेट ल्याउँदै छ । सरकारले विभिन्न ठाउँमा आफ्ना प्राथमिकता तय गरी शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमार्फत काम गर्न थालेको बताउँदै आएको छ । तर सरकार नेपालभित्रको सुधारमा मात्र केन्द्रित भएर हुँदैन, विश्वभर भइरहेको अस्थिरतालाई पनि हेर्नुपर्छ, जुन पश्चिम एसियामा मात्र सीमित छैन । विश्वमा अन्यत्र पनि अस्थिरता देखिरहेका छन् । यस्तो परिस्थितिमा सरकारले सन्तुलित बजेट ल्याउन आवश्यक छ । सरकारको राम्रो पक्ष भनेको स्थायित्व र स्पष्ट सिद्धान्त हो । उद्योग क्षेत्रको अपेक्षा भनेको प्रगतिशील बजेट आओस् भन्ने नै हो । नेपालका सबै समस्या र अप्ठ्यारा एउटै बजेटबाट समाधान होस् भनेर हामीले कुनै जादुको छडीको अपेक्षा गरेको छैनौं । तर बजेटबाट कम्तीमा एउटा स्पष्ट दिशाको अपेक्षा गरिरहेको छु ।

स्थानीय उद्योगलाई सहयोग पुर्‍याउने, बजारमा उपभोगको चक्र सुरु गर्न मद्दत गर्ने, विभिन्न वित्तीय संस्था र बैंकमा थुप्रिएर रहेको पैसालाई उपभोगको चक्रमा ल्याउन सहयोग गर्ने र सबैभन्दा महत्त्वपूर्ण सरकारले पूर्वाधार विकासमा लगानी बढाओस् । पूर्वाधारमा लगानी गर्दा अन्य धेरै चक्रमा सकारात्मक प्रभाव पार्छ, जुन अर्थतन्त्रका लागि निकै फाइदाजनक हुन्छ । हामीले नेपालका सबै समस्या र अप्ठ्यारा एउटै बजेटबाट समाधान होऊन् भनेका छैनौं, तर कम्तीमा एउटा स्पष्ट दिशाको अपेक्षा छ : अम्लन मुखर्जी प्रमुख कार्यकारी अधिकृत, युनिलिभर नेपालप्रगतिशील नीति वा दृष्टिकोणले बहुराष्ट्रिय कम्पनीलाई मात्र नभई स्थानीय उद्योगलाई पनि फस्टाउन मद्दत गर्छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान ५ प्रतिशत हाराहारी छ । विश्वभरिका नेपाल जस्तै समान देशको तुलनामा यो अत्यन्तै कम हो । ‘मेक इन नेपाल’ बनाउने भन्दै सरकारले विभिन्न ऐन, कानुन एवं नीतिलाई एउटा समस्याका रूपमा चुनौती दिइरहेको वा स्वीकार गरिरहेको छ । जुन समयमा नेपालले नेपालमै उत्पादन गर्न सुरु गर्छ, राजस्व वृद्धि हुने, राम्रो लगानीको वातावरणसँगै स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीहरूसँगै छिमेकीले पनि नेपाललाई सकारात्मक रूपमा हेर्नेछन् ।

यस्ता नीतिको उतारचढावबीच धेरै कम्पनीले ३० वर्षभन्दा बढी समयदेखि नेपालमा काम गरिरहेका छन् । हामीले एउटा सफल व्यावसायिक मोडल बनाइसकेका छौं । हामी एक व्यावसायिक संस्था हौं । उच्च दरमा कर तिरिरहेका छौं । नेपालका लागि राम्रो गर्न चाहन्छौं । नेपालका लागि जे राम्रो हुन्छ, त्यो मेरो संस्थाका लागि पनि राम्रो हो । राम्रो अवस्था भए हामी अझ बढी लगानी गर्न चाहन्छौं र व्यवसाय बढाउन चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *